आसफोर्ड चुम्लुङले बृहत साँस्कृतिक सम्मेलन गर्ने

आसफोर्ड, युके, १८ सेप्टेम्बर २०१९ । बेलायतवासी याक्थुङ(लिम्बु) समुदायमा साँस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत साँस्कृतिक सम्मेलन गर्ने भएको छ । नयाँ पुस्तामा समुदायको साँस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

आसफोर्डमा सम्पन्न आफ्नो नवौँ वार्षिक साधारणसभामा भावी कार्ययोजना प्रस्तुत गर्दै शाखा अध्यक्ष टङ्क येङ्देनले डिसेम्बरमा हुने चाःसोक तङ्नामका अवसरमा साँस्कृतिक सम्मेलन आयोजना गर्न आफू प्रयासरत भएको बताए । ‘सम्मेलनमा याक्थुङ समुदायका सबै साँस्कृतिक पहिचान झल्काउने प्रस्तुतिहरू हुनेछन्,’ उनले भने, ‘प्राज्ञिक बहसदेखि साँस्कृतिक अुनष्ठानहरू पनि गर्ने सोँच रहेको छ ।’ सम्मेलनमा बेलायतभरका साँस्कृतिक समूहहरूलाई निम्ता दिने बताए । उनले भविष्यमा युवा पुस्तालाई लक्षित गरेर भाषिक र साँस्कृतिक कक्ष सञ्चालन गर्न लागिरहेको जानकारी गराए । आसफोर्ड शाखालाई गत जुलाई चुम्लुङ देनमा सम्पन्न सिसेक्पा तङ्नाम उत्सवका अवसरमा उत्कृष्ट शाखाका रूपमा केन्द्रले चुम्लुङ अवार्डले पुरस्कृत पनि गरेको थियो । सोही दिन आसफोर्ड केलाङ समूहले यूकेव्यापी केलाङ प्रतियोगिताको उपाधि पनि हात पारेको थियो । आसफोर्ड र केन्ट काउन्टी याक्थुङहरूको सघन बसोबास भएको क्षेत्रमा पर्छ ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि चुम्लुङ यूकेका उपाध्यक्ष छत्र वनेमले सँस्कृति संरक्षणमा संस्थागत भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले याक्थुङ समुदायका विविध विषयहरूमा भइरहेको बहसलाई सकारात्मक रूपमा लैजानुपर्ने बताए । त्यस्तै, महासचिव गणेश इजमले चुम्लुङ देन(जग्गा) खरिद गरेपछि चुम्लुङकर्मीहरूको काँधमा थप जिम्मेवारी बढेको जनाए । चुम्लुङ यूकेका पूर्व अध्यक्ष डम्मर सिङ्गकले युवा पुस्ताको अर्थपूर्ण सहभागिताका लागि युवा कमिटी निर्माण गरेर चलायमान गराउनुपर्ने सुझाव दिए । कार्यत्र mममा केन्द्रीय सदस्य पूर्ण मादेन, सल्लाहकारहरू लोकेन्द्र तबेबुङ, राजेन्द्र खिम्दिङ, देव हुक्पा चोङवाङ, नरेन्द्र मावोहाङ, निर्मल पतङ्वा, लिम्बुवान नागरिक समाज यूकेका महासचिव लाहाङ चेम्जोङ लगायतले विचार राखेका थिए ।

यसअघि, सचिव दिवस थोप्राले प्रस्तुत गरेको वार्षिक संस्थागत प्रतिवदेनलाई पारित गरिएको थियो । यस्तै, कोषाध्यक्ष सुन्दर लिङ्थेपद्वारा प्रस्तुत कुल ११,१२६.९९ पाउण्डको आय, कुल ४,९७१.८० पाउण्डको व्यय भई कुल ६,१५५.१९ पाउण्डको बचत भएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष सोदिप थोप्राले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा आएका सुझावहरूलाई समेटेर शाखाले एक वर्षको कार्यनीति र योजनाको प्रारुप तयार पार्ने सचिव थोप्राले बताए ।


 

लिम्बु सँस्कृतिको हब बन्दै आसफोर्ड

आसफोर्ड(बेलायत) । करिब डेढ लाख नेपालीहरूको बसोबास रहेको बेलायतमा लिम्बु समुदाय चौथो जनसंख्याका रूपमा रहेका छन् । सन् २००४ र २००८ यता पूर्व ब्रिटिस गोरखा सैनिक र तिनका परिवारले आवासीय अधिकार पाएपछि नेपालका आदिवासी जनजातिहरूको बेलायत आगमन बढेको हो । लिम्बु जातिको जनसंख्या बीस हजार बढी रहेको अनुमान गरिएको छ ।

थातथलोभन्दा धेरै टाढा आएपनि पूर्वी नेपालका याक्थुङ भनेर चिनिने लिम्बु जाति आफ्नो जातीय पहिचान र सँस्कार सँस्कृति संरक्षण गर्न लागिपरेको छ । सन् २००३ मा बेलायती लिम्बुहरूलाई गोलबद्ध गर्न याक्थुङ चुम्लुङ स्थापना भएपछि संस्थागत गतिविधिमार्फत् समुदाय अघि बढ्न थालेको हो ।

​बेलायतको दक्षिण पूर्वी केन्ट काउन्टीमा मात्रै चालीस प्रतिशत लिम्बुहरूको बसोबास रहेको छ । सबैभन्दा बाक्लो वस्ती रहेकैले गर्दा पनि आसफोर्ड नगरमा चुम्लुङको गतिविधि सबैभन्दा बढी रहेको आसफोर्ड चुम्लुङ अध्यक्ष टङ्क येङ्देन बताउँछन् ।

‘जनसंख्याको एक तिहाई लिम्बु मात्रै आसफोर्ड नगरमा छन्,’ उनले भने, ‘यसकारण पनि चुम्लुङको प्रत्येक कार्यक्रममा नगरको उल्लेख्य सहभागिता रहन्छ ।’ गत वर्ष मात्रै चुम्लुङ देन(जग्गा) खरिद गर्दा आसफोर्ड क्षेत्रबाट एक लाख पाउन्ड(डेढ करोड रूपैयाँ) बढी सङ्कलन भएको थियो । तीन लाख पच्चिस हजार पाउन्डको कुल बजेट रकममध्ये यस नगरबाट एक लाख सात हजार भन्दा बढी सहयोग उठेको अध्यक्ष येङ्देनले बताए ।

चुम्लुङ देन खरिदका लागि दोस्रो चरणको घरदैलो अभियान सन् २०१७ डिसेम्बर १७ मा सुरु भएको थियो । जुन अभियान गएको चासोक तङ्नामको दिन समापन भएको घोषणा गरिएको थियो । उक्त दिनमा अभियानमा सहयोग पु¥याउने १९४ जनालाई शाखाले सम्मान पनि ग¥यो ।

आसफोर्ड नगरको विशेषता भनेको पछिल्लो पुस्ताको लोभलाग्दो सहभागिता पनि हो । साँस्कृतिक मोहकै कारण चुम्लुङमा युवा पिँढीको सक्रियता पनि देख्न सकिन्छ । करिब चार वर्षअघि चुम्लुङले एक महिने लिम्बु भाषा लिपिको कक्षा सञ्चालन गर्दा सहभागी लगभग सबै कलेज तहका विद्यार्थीहरू मात्रै थिए । त्यति मात्रै होइन पछिल्लो एक दशकयता लिम्बुको लोकप्रिय केलाङ(च्याब्रुङ नाच) समूह हाँक्ने सबै युवायुवती छन् ।

सन् २०१६ मा नजिकैको फोक्सटोन नगरमा गोरखा शालिकको अनावरणका लागि आएकी चर्चित अभिनेत्री जोअन्ना लुम्ले समेत आसफोर्ड नगरको केलाङ देखेर हर्षित भएकी थिइन् । आसफोर्ड केलाङ समूहको माग अहिले प्रत्येक वैवाहिक र साँस्कृतिक कार्यक्रमहरूमा बढ्दो छ ।

लिम्बु जातिका मुख्य चाडहरू चासोक, कक्फेक्वा, बलिहाङ, सिसेक्पा तङ्नामका अवसर पारेर नियमित साँस्कृतिक कार्यक्रमहरू आसफोर्डले आयोजना गरिरहेको छ । भाषिक र साँस्कृतिक जागरणका लागि यस्ता कार्यक्रमहरू महत्वपूर्ण पनि भएका छन् । यसका अलावा सामाजिक काममा पनि संस्था सरिक भइरहन्छ ।

विशेषतः नगरमा बसोबास गरिरहेका याक्थुङ समुदायहरू विपत्तिमा परेका बेला संस्था अघि बढ्ने गरेको छ । आफन्त गुमाएका परिवारका लागि आर्थिक सहयोग पु¥याउनेदेखि मृतकहरूको मौलिक साँस्कृतिक विधिअनुसार कर्मकाण्ड गरिदिनेसम्मका कामहरूमा चुम्लुङले सहजकर्ताको भूमिका खेल्ने गर्छ ।

नजिकैको मेडस्टोनमा चुम्लुङ देन खरिद भइसकेपछि आसफोर्डले आफूलाई अझ जिम्मेवार महसुस गरेको छ । निकट भविष्यमा केन्टलाई याक्थुङ सँस्कृति अध्ययनको केन्द्र बनाउने सोँच रहेको अध्यक्ष येङ्देनले सुनाए । उनले केलाङप्रेमी र समूहहलाई सङ्गठित गर्न केलाङ एकेडेमीको अवधारणा पनि विकास गरेको बताए । याक्थुङ भाषा, मुन्धुम, इतिहास, सँस्कार अध्ययन गराउन चुम्लुङले युवा लक्षित कार्यक्रम ल्याउने जनाए ।

  • – अमित थेवे

Be the first to comment

Leave a Reply

Your email address will not be published.