Download Kirat Font

किराती लिपिको सफ्टवेयर सार्वजनिक

धरान- फाल्गुन ६, २०६७ । किराती लिपिमा तपाईलाई फेसवुक वा अन्य कुनै इन्टर्नेटमा च्याट, चिठि पत्र आदान प्रदान गर्न मन लागेमा अव चिन्ता नलिए हुन्छ । हङकङ निवासी पदम लाओती र अमेरिकाको हवाई राज्य निवासी जेनोटाइप प्रविधिका सफ्टवेयर इन्जिनियर काओनोहि केआली अीओकापो (काई) ले किराती ल्याङ्वेज किट सफ्टवेयर तयार गरे पछि किराती लिपिमा लेख्न सहज भएको हो ।

किराती लिपि र भाषाहरु संरक्षण गर्ने उदेश्यले किराती भाषा परियोजना अन्तर्गत किराती लिपी कम्प्यूटरमा प्रयोग गर्न सजिलोका लागि उक्त सफ्टवेयर तयार गरिएको लिम्बुले बताए ।

 उक्त सफ्टवेयरलाई माइक्रोसफ्ट र सनमाइक्रो सिस्टमले लगायत विभिन्न कम्पनीले स्वीकारेको काओनोहिले बताए । हाल सम्म किराती लिपिको फन्ट कम्प्युटरमा प्रयोग भए पनि वास्तविक युनिकोड फन्ट लगायत सफ्टवेयर तयार गर्न सकिएको थिएन । किराती लिपीलाई वैज्ञानिकीकरण गर्दै जुनसुकै कम्प्यूटर, वेवसाइटमा देखिने गरी एक सफ्टवेयर बनाएको काओनोहीले बताए ।

किराती भाषा परियोजनालाई प्रर्वद्धन र विकास गर्नकोलागि दुबैजनाले दुइ बर्ष देखि किराती लिपिलाई बैज्ञानिकीकरणमा जोड दिदै आएको बताए । किराती लिपिको प्याकेजले किराती लिपि प्रयोगलाई नियन्त्रण गर्न भरपर्दो तालिकाको डिजाइन गरिएको छ । पदम लिम्बुका अनुसार युनिकोडलाई सपोर्ट गर्न प्रयोगमा रहेको किराती फन्टलाई बदल्न र सही तरिकाले देखाउनकोलागि आवश्यक टेवल थपिएको छ ।  स्तरीय युएस फोनेटिक ले-आउट, स्टान्डर्ड देवानगरी ले-आउट र सिक्किममा प्रयोग गरिने एससी स्टाण्डर्डमा आधारित किराती लिपिको किवोर्ड ड्राइवर तयार गरिएको उनले बताए ।

सफ्टवेयर इन्जिनियर काओनोहिले किराती लिपीलाई नेपालकोलागि र भारतकालागि छुट्टै समावेश गर्न सनमाइक्रो सिस्टमलाई आधिकारीक रुपमा अनुरोध गरेको बताए । उनले भने, ‘किराती लिपिको समावेशले निकट भविष्यमा ओपन अफिस इन्टरफेसलाई अनुवाद गर्न सम्भव बनाउनुका साथै फन्ट र किवोर्डहरु राख्न र प्रयोग गर्न अंग्रेजीमा कागजातहरु प्रदान गर्न, किराती भाषा समुदायका सदस्यहरुले उक्त कागजातहरुलाई (अभिलेखहरुलाई) किराती लिपिमा अनुवाद गर्न र चाहिएमा नेपालीमा पनि अनुवाद गर्न सक्नेछन् ।’ लिम्बूले सफ्टवेयरले ओपन अफिस एप्लीकेशनसगै प्रयोग गर्नकोलागि किराती अक्षर लिपी जाच्ने स्पेल चेकर बनाउनेछ । किराती भाषा र लिपि प्रयोगको डव्लु डव्लु डव्लु डट जेनोटाइपटुक डट कमले रेखदेख गर्नेछ ।

परियोजनाको मुख्य उद्देश्य किराती युनीकोड फन्ट (अक्षर) र किवोर्डको विकाससंग किराती स्पेलचेकर (अक्षर जाच गर्ने) विद्युतीय किराती लिपिलाई नेपाली अंग्रेजी शब्दकोश अनुवाद गर्ने ओपन अफिस सफ्टवेयर जस्ता एप्लीकेशनहरुको विकास गरेको पदम लिम्बुले बताए । सफ्तवेयर तयार गर्न करिव ३० लाख रुपैया खर्च भएको उलने बताए ।

किराती लिपीलाई मुख्यगरी लिम्बू, राई (खम्बु), सुुनुवार र याख्खा जातिले लेख्यरुपमा लामो समय देखि प्रयोग गर्दै आएका छन् । सफ्टवेयर तयार भएर प्रयोगमा ल्याउन सफल भए पछि किरात धर्मगुरु मुहिङ्गुम अंसिमाङ आत्मानन्द लिङ्देन सेइङले फागुन ३ गते इलामको मांसेबुङमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका थिए । सफ्टवेयर बारे लिम्बु र काइले धरानमा विहिबार पत्रकार सम्मेलन गर्दै किरात लिपि अव कहिलै नमर्ने बताए ।

किराती लिपीलाई नवौं शताव्दीका ऐतिहासिक राजा सिरिजंगाले विकास गरेकाले उनकै नाममा उक्त लिपिको नाम रहेको छ । उक्त लिपिको पुनरुत्थान र प्रचार प्रसार भने नवौं शताव्दीका राज सिरिजंगाको मृत्यु पछि एकहजार बर्ष पछि अर्थात बर्तमान ताप्लेजुङको सिनाम थुममा (इ.सं.१७०४-१७४१) जम्मेका त्येअंसि सिरिजंगा सिं थेवेले गरेको हो । उक्त लिपिलाई बेलायती अनुसन्धानकर्मी हज्सन, क्याम्पवेल, इमानसिं चेम्जोङ, बाजवीर थलङ, सुल्जी, बिबि सुव्वा, पदमसिं मुरिङ्ला, रनध्वोज नेम्वाङ, थाकोसेक लिम्बू, विरही काइला, लालसेर सेन्दाङ, बैरागी काइला आदि विद्धानले प्रचारमा ल्याएका थिए ।

प्रथम विश्वयुद्धको समाप्ती संगै उक्त लिपिलाई किरात धर्मका महागुरु फाल्गुनन्दले लेखन परम्परालाई निरन्तरता दिदै स्वदेश र विदेशबाट पुस्तक, पत्रपत्रिका मार्फत समृद्ध पारेको लिम्बुले बताए । पछिल्लो समयमा नेपाल, भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा बसोवास गर्ने किराती मध्ये लिम्बू जातिले यो लिपिलाई प्रयोग गरेर पुस्तकहरु मुन्धुम, किराती लोक कथा, समसामयिक कथा, कविता, पालाम, निवन्ध, नाटक, उपन्यास आदि साहित्यिक र स्वतन्त्र लेखहरु भरपुर मात्रामा प्रकासित हुदै आएका छन् ।

आधुनिक सूचना प्रविधि, इन्टर्नेट, वेवसाइटको जमानामा पुराना र नया पुस्ताका साथै किराती लिपि प्रयोग गर्ने विश्वका मानिसलाई सहज बनाउन किराती युनीकोड फन्ट (अक्षर) र किवोर्डको विकाससंग किराती स्पेलचेकर (अक्षर जाच गर्ने) विद्युतीय किराती नेपाली अंग्रेजी शब्दकोश अनुवाद गर्ने ओपन अफिस सफ्टवेयर एप्लीकेशनहरुको विकास गरे पछि उक्त लिपिले थप ऐतिहासीकता बोकेको लिम्बुले बताए । विश्वमा लेख्य परम्पराको आधारमा बाचेका लिपिहरु मुख्यगरी ३० वटा जतिमात्र छन् । ती मध्ये किरात लिपि एउटा भएको भाषा तथा लिपि बैज्ञानिकहरुलेबताएका छन् । संसारमा ६ हजार सात सय भाषा बोलिन्छन् ।

श्रोत्ः प्रदिप मेन्याङबो, कान्तिपुर, दैनिक

Download 4 x Kirat Font:
Yakthung >>Yakthung Bold >>Sirijunga >>Sirijunga Bold >>