लिम्बुहरु आफैले खरिद गरेको जग्गामा सिसेक्पा तङनाम भब्य रुपमा सम्पन्न

गत १३ जुलाई २०१९ का दिन युकेमा रहेका लिम्बुहरुले आफैले खरिद गरेको जग्गामा सिसेक्पा तङनाम भब्य रुपमा मनाएका छन् ।

घर सहितको साढे १६ विघा जग्गाको औपचारिक उद्घाटन प्रमुख अतिथि मेडस्टोन काउन्सिलकी मेयर मारिन रिङ र किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले सयुक्त रुपमा केके काटेर र ब्यानर खोलेर उदघाटन गर्नुभयो । मेयर रिङले मेडस्टोनमा चुम्लुङ भूमि तथा भवन ब्यवस्थापनको स्वागत गर्दै सफलताको शुभ कामना ब्यक्त गर्नुभयो । पहिलो पटक नयाँ ठाँउमा कार्यक्रम गर्न सफल हुनुभएकोमा विशिष्ट अतिथि जनजाति महासङ्घ युकेका अध्यक्ष जंग सुनुवार र एनआरएन युके अध्यक्ष योग कुमार फगामीले शुभ कामना ब्यक्त गर्नुभयो भने अमेरिकाबाट पाल्नु भएको एसोसियट प्रोफेसर मारुहाँङ लिम्बुले विगत एक दशक देखि लिम्बु र लिम्बुवानको बारेमा खोजअनुसन्धान जारी राखेको कुरा बताउनु भयो ।

समारोहमा प्रत्येक बर्ष प्रदान गरिने चुम्लुङ अवार्ड टंक याङदेन, यलम्बरहाँङ अवार्ड गेहेन्द्र थाम्सुहाँङ र आर्टिष्ट अफ द ईयर सुनिता केरुङलाई प्रदान गरियो । त्यस्तैगरि च्याब्रुङ नाच प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले जित्न सफल भयो भने केलाङ र माङलाङलाई पनि पुरस्कृत गरिएको थियो । त्यस्तैगरि विश्व पारा ओलल्पिकमा स्वर्ण पदक विजेता कुशल लिम्बु, अल्टा म्याराथन धाविक रञ्जु याङदेनलाई सम्मान गरियो । गायक ब्रमिण शेर्मा, नायिका सुमि लिम्बु, रोसनी सिंघक, बेनुका फोम्बो लगायतका कलाकारले भरपुर मनोरन्जन दिलाएका थिए ।

लगभग ५ हजारको संख्यामा उपस्थित लिम्बु तथा गैरलिम्बुहरुले आपसमा भेटघाट तथा शुभ कामना आदानप्रदान गरे । लिम्बु जातिको भेषभुषा, खानापरिकार, तानबुन लगायतको प्रदर्शनलाई स्थानीय अंग्रेजहरुले धेरै रुचाए । तङनाममा नसिंङ एसोसियसन युकेले निशुल्क हेल्थ चेक, एनआरएन युकेले सदस्यता स्टल लगायत अनगिन्ति स्टलहरु थिए ।

चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव गणेश इजमले संचालन गर्नुभएको थियो । समारोहका संयोजक तथा उपाध्यक्ष श्रीमति विमला सेनेले सबैलाई स्वागत गर्नुभएको थियो ।

सिसेक्पा तङनाम चुम्लुङ युकेको मुख्य बार्षिक कार्यक्रम हो । यस अघि फेल्थाम र आसफोर्डमा हुदै आएको थियो । साउन १ गतेलाई लिम्बुहरुले सिसेक्पा तङनाम भनी अनिकाल धपाउने चाडको रुपमा मान्ने गर्दछन । सन् २००३ बाट शुरु भएको चुम्लुङको यो १५ औं संस्करण हो । चुम्लुङ युकेका क्रियाशिल सदस्य २ हजार भन्दा बढि रहेका छन भने युकेमा अनुमानित २० हजार लिम्बुहरु रहेका छन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.