अन्ततः थरक शाखाको अधिवेशन भई छोडयो

  • दल आङ्देम्बे लिम्बू/शेरू इङ्नाम,

    सन् २०१७ साल मे महिनाको ६ तारिख शनिबार बसेको किरात याक्थुङ चुम्लुङ (के वाई सी) यूके थरक शाखाको तेस्रो अधिवेशनले निवर्तमान शाखा अध्यक्ष दलकुमार आङ्देम्बेको अध्यक्षतामा रहने गरी १५ सदस्यीय कार्यसमितिका पदाधिकारीहरूको गठन भएको थियो। के वाई सी यूकेको विधान २००३ चौथो संशोधन तथा परिमार्जित विधान २०१४ को परिच्छेद ८ को धारा १६.१ शाखा चुम्लुङ्को अधिवेश अनुसार गत मे महिनाको पहिलो हप्तातिरै चौथो अधिवेशन गरेर उक्त कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूको कार्यकाल समाप्त हुनुपर्ने थियो। विडम्बना, विश्वव्यापी कोभिड-१९ को महामारीले अस्तव्यस्त पारेको यो विषम परिस्थितिले गर्दा उचित समयमा स‍ो अधिवेशन सम्पन्न गर्न प्राय: असम्भव नै थियो। एकपटक सामाजिक दूरी कायम राखेर ३० जनासम्मको जमघट गर्नसक्ने भनि सरकारले छूट त दिएको थियो। तर गणितीय हिसाबले ३० जनाको संख्या भनेको अति कम उपस्थिति मनन् गरिएकोले लकडाउन हलोखुकुल‍ो हुने पर्खाइमा बस्दाबस्दै अझ दोस्रो लकडाउन लागू भयो। यसो हुनाले भेला भएर अधिवेशन सम्पन्न गर्ने सम्भावना अति क्षीण बन्दै गयो। अर्कोतिर अधिवेशन गर्नै पर्ने हतारको कारण आगामी ९ जनवरीमा के वाई सी यूके केन्द्रको राष्ट्रिय महाधिवेशन हुने प्रष्ट संकेतले जसरी भए पनि शाखाको अधिवेशन त्योभन्दा अगाडि नै सम्पन्न गर्नुपर्ने वाध्यता भएको थिय‍ो। तसर्थ बुधबार २१ अक्टोबरको हाम्रो शाखा कार्यसमितिको भाइबर कन्फेरेन्स बैठकले २२ नोभेम्बर आइतबारको दिन चौथो अधिवेशन जूम प्रविधिद्वारा सम्पन्न गर्ने निर्णय गरियो।

    सर्वसाधारणको बाहुल्य रहेको KYC-UK थरक शाखाको लागि जूम प्रविधिको मिटिङ (अधिवेशन) नौलो र धेरै गाह्रो विषय थियो। संस्थाका तात्कालीन सचिव शेरू इङ्नामको विशेष पहलमा जूम अधिवेशन सम्पन्न गर्न कम्मर कसेर लागि परियो। लकडाउनको यस्तो कठिन परिस्थिति र व्यस्तताको बावजुद  सामाजिक दूरी कायम खाख्दै र सुरक्षाको पहिरनसाथ भोक, निन्द्रा आदिलाई प्रवाह नगरी घरदैलो जूम प्रशिक्षण अभियान गरियो। जूम मिटिङमा उपस्थित हुनसक्ने बनाउन यो प्रशिक्षण कार्यमा हाम्रो समय धेरै नै गुज्रिएको थियो र अन्त्यमा यस प्रविधिमा अनविज्ञ सदस्यहरूलाई दक्ष बनाएरै छाडियो। यस कार्यमा उपाध्यक्ष इन्द्रकुमारी पन्धाकको पनि केही न केही सहय‍ोग रहेको थियो। यी आदि प्रयासको फलस्वरुप गत आइतबार २२ नोभेम्बरको दिन यही जूमद्वारा चौथो अधिवेशन गरिएको थियो। उक्त अधिवेशन तात्कालीन शाखा अध्यक्ष दलकुमार आङ्देम्बेको अध्यक्षता र आमन्त्रित प्रमुख अतिथि के वाई सी यूके केन्द्रीय वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङक‍ो आतिथ्यमा गरिएको थियो। अधिवेशन बन्दसत्र (विघठन हुनेवाला कार्यसमितिको) र खुलासत्र (निर्वाचन मण्डलको) गरि दुई खण्डमा विभक्त गरी कार्यक्रम सञ्चालन गरिएको थिइयो। कार्यक्रमको प्रारम्भमा सचिव शेरू इङनामले तात्कालीन शाखा अध्यक्ष दलकुमार आङ्देम्बेलाई सभाध्यक्ष घोषणा गरे पश्चात् अथिति लगायत सम्पूर्ण तप्का र तहका पदाधिकारीहरूलाई आशनग्रहण गराइएको थियो। सभाध्यक्ष दलकुमार आङ्देम्बेले पानसमा दीपप्रज्वलन गरि बन्दसत्र कार्यक्रमको विधिवत् रुपमा उद्घाटन गर्नु भएको थियो। यसै क्रममा उपाध्यक्ष इन्द्रकुमारी पन्धाक इस्बोले स्वागत वक्तव्य दिनु भएकी थिइन्। स्वागत मन्तब्यपछि दिवाङ्गत आत्माहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो।

    बन्दसत्रको मुख्य प्रस्तुति १४/१५ पृष्ठ लामो साडे तीन वर्षे वार्षिक प्रतिवेदनलाई सारांशमा खिचेर शाखा अध्यक्ष दलकुमार आङ्देम्बेले वाचन गर्नु भएको थियो। त्यसै गरि तदर्थ लेखापरीक्षक अध्यक्ष टंक खापुङद्वारा तयारी पारिएको समीक्षागत लेखा टिप्पणी, कोषाध्यक्षद्वारा तयार पारिएको आर्थिक प्रतिवेदन र जिन्सी विवरण उनै कोषाध्यक्ष लक्ष्मीप्रसाद लिबाङले जूम स्क्रीन शेयरद्वारा कौशलतासाथ प्रदर्शन गर्दै व्याखा गर्नु भएको थियो। यस सत्रको अन्तिम प्रस्तुति भनेको नव कार्यसमितिले छिट्टै गर्नुपर्ने कामहरू जस्तै: विगठित कार्यसमितिबाट नवगठित कार्समितिले शाखाको सम्पूर्ण सरसामान जिम्मा लिनुपर्ने, लेखापरीक्षणको कारण रोकिएको शाखाको आर्थिक कारोबार निरन्तरता दिनुपर्ने, आस्रित सदस्य बितेमा पीडितले पाउनु पर्ने राहतको स्पष्ट निर्णय गर्नु पर्ने, चुम्लुङ्देन अनुदानको निन्तरता दिनु पर्ने जस्ता आदि कुरा क्रमबद्द रुपमा सचिव शेरू इङ्नामले जानकारी गराउनु भएको थियो। यस सत्रको अन्त्यमा प्रमुख अतिथि के वाई सी यूके का केन्द्रीय वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले शाखाको सदस्य संख्याको अनुपातमा उपस्थिति भयङ्कर भएको जनाउनु हँदै यस किसिमको भब्य कार्यक्रममा आतिथ्य ग्रहण गर्नु पाएकोमा आफूलाई सौभाग्य ठानेको छु भन्नु हुँदै रमाइलो शैलिमा कार्यक्रमको प्रशंसा साथ धन्यवाद ज्ञापन गर्नुभयो।

    अधिवेशमा ५२ जनाभन्दा बढीको जूम सहभागिता रहेको थियो। जुन कुरा बैठकमा आउन सक्षमहरूको आधारमा ५०% भन्दा बढी नै संख्यामा उपस्थित भएको मान्न सकिन्छ। सहभागि मध्ये “थात्थलो” र “घरजम” का कुसल अभिनेता हाम्रै शाखाका सदस्य किशोर पन्धाक (पन्धाक ठुले) को पनि हङ्कङबाट सहभागिता रहेको थियो। नेपालको आमन्त्रित काजीमान लुम्फुङ्वा लिम्बूले भने अन्तिम घडीमा प्राविधिक कठिनाई भएर सहभागी बन्न नसकेको अधिवेशनकै समयमा जनाउनु भएको थियो। यदि प्रशिक्षण दिइएका र सहभागी बन्न आग्रह गरिएका सबैले उपस्थितिको महत्व बुझिदिनु भएको भए र हाम्रो प्रशिक्षण गर्दाको कष्टको मूल्य चुकाई दिनु भएको भए लगभग ७० जनासम्म सहभागी बन्न सक्ने हिसाब गरिएको थियो।

    अन्त्यमा सभाध्यक्ष दलकुमार आङदेम्बेले सम्पूर्ण सहभागिहरूलाई धन्यवाद दिँदै तात्कालीन कार्यसमितिका पदाधिकारीहरूको कार्यकाल समाप्त भएको साथै कार्यक्रमको पहिलो चरण बन्दसत्र अन्तभएको घोषणा गर्नु भएको थियो। प्रथमचरणको कार्यक्रमको समापनपछि खाजापानी र भलाकुसारीको लागि २० मिनेट मध्यान्तर विश्राम गरिएको थिइयो।

    दोस्रो चरणको खुलासत्र कार्यक्रममा निर्वाचन सचिव नेत्रप्रसाद खजुमले सभापति, प्रमुख अथिति, लगायत सम्पूर्ण  व्यक्तित्वहरूलाई क्रमवद्दरुपमा आशनग्रहण गरउनु भएको थियो। लगत्तै उहाँले स्वागत वक्तव्य पनि दिनु भएको थियो। तेस्रो क्रममा निर्वाचन मण्डलका अध्यक्ष कृष्णकुमार कुरुम्बाङ्ले निर्वाचन तदर्थ समितिलाई प्राप्त भएको निर्विरोध उमेद्वारहरूको नामावली पढेर सुनाउँदै उहाँहरूलाई कार्यसमितिका पदाधिकारी घोषणा गर्नु भएको थियो। जसअनुसार अध्यक्षमा युवराज इस्बो, उपाध्यक्षमा पदमबहादुर यक्सो, दोस्रो उपाध्यक्षमा देउमान फेम्सङ लिबाङ, सचिवमा बिनु लिबाङ, सहसचिवमा देबेन्द्र ताम्लिङ, कोषाध्यक्षमा लक्ष्मीप्रसाद लिबाङ र सहकोषाध्यक्षमा डम्बर इङ्नाम चयन हुनु भएका छन्। बाँकी रहेको कार्यसमिति सदस्य छिट्टै पुरा गर्ने नवकार्य समितिको वचन रहेको छ। अध्यक्ष कुरुम्बाङ्ले उपरोक्त नव गठित कार्यसमितिलाई वधाई दिँदै लिम्बू भाषामा सपथ ग्रहण गराउनु भएको थियो। सपथ ग्रहण पश्चात नवगठित कार्यसमितिको अध्यक्ष युबराज इस्बोले सबैलाई धन्यवाद दिँदै सहयोग र सहकार्यताको अपेक्षा राख्दै आफ्न‍ो पदीय प्रतिबद्दता जाहेर गर्नु भएको थियो।

    दोस्रो चरणको कार्यक्रमको अन्त्यतिर प्रमुख अथिति केन्द्रीय वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङको मन्तव्य प्रस्तुत थियो। मन्तव्यपछि खुलास्त्र सभाध्यक्ष कृष्णकुमार कुरुम्बाङले दोस्रो चरणको  कार्यक्रम पनि समाप्त भएको घोषणा गर्नु भएको थियो।