Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

खासाममा झुमा झन नुमा

ख्याउटे भएपनि एउटा सिपाही सुबेदार वा मेजर ताक्छ, क्षमता नभएपनि सिंहदरवारको भित्तामा प्रधानमन्त्रीको फोटो टास्न मरिहत्ते गर्छन ओलीवादी नेताहरु । सोहीपरि नाम दामसंगै नारायण गोपाल, अरुणा लामा, तारादेवी बन्ने आम युवाहरुको जस्तै सपना बोकेर भरखर टीननएज पार गरेकी झुमा लिम्बू अनेम, लिम्बुवान मैवाखोला ढुंघेसाँगुबाट संगीतको मूल प्रवाह पहिल्याउदै राजधानी काठमाण्डौं पसिन ।

नभन्दै झुमाको पहिलो एल्बम ‘ए साइँला’ ले अपार सफल्ताले पायो र एकैचोटी उनको सपनाको मुहान फुट्यो । लौ अब झुमाले शहर, देश, बिदेशको स्टेज तताउने भयो भन्दै चल्तीका डाङ्डुङ्गे कलाकलाहरु डराउनु स्वभाविक थियो । तर गायनमा उनले सुरुमै ‘सार्प बे्रकिङ’ हानेको देखेर सबै सन्तोषको सास फेर्ने थाले ।
एउटा सपनाको खोजिमा हिडेकी किशेरी झुमालाई आखिर चल्तीको तरुनी उमेर पार नगर्दै नेपाली संगीतको फक्ताङलुङ उक्लिन ।

गजब भो । झुमालाई आम युवा कलाकारजस्तो नाम र दामले पटक्कै आकर्षण गर्न सकेन । कारण बन्यो; ‘ए साइँला’ गीती एल्बम सार्वजानिक कार्यक्रमका प्रमुख अथिती वरिष्ठ संगीतकार अम्बर गुरुङ । त्यहाँ अम्बरले प्रतिभा र झुमा लिम्बूको सम्भावना बारे बोलेपछि उनको सपनाले एकाएक यू–ट्रन लियो । र, उनी गायनलाई ब्यवसायी चौधाराबाट बाहिर निकालेर गम्भीर संगीत साधनामा लागिन ।

सांगीतिक साधनाको यात्रा म्याराथुन दौडभन्दा कठीन भयो झुमाको निम्ति । खासगरी दशक लामो अम्बर गुरुङसंगको संगत र सिकाइमा उनी नेपाली गीत संगीतलाई सामन्य बुझ्नेसम्म भइन् । यही यात्रामा उनले संगीतको सामुद्रिक भेल मुनि गहिराइमा लुकेर बसेका जीवन र जगतरुपि अनमोल मोतीका पहाड फेला पारिन । निरन्तर साधनामा लागिन । उनलाई अभाव, परिवारिक सुख, नाम, दामजस्ता भौतिक कुण्ठाहरुले कहिल्यै छोएन । राष्ट्रिय स्तरमा ख्याती आर्जन गरेकी एउटा कलाकारले दश वर्षपछि अर्को एल्बम निक्लन्नुले उनको सारा परिदृश्यहरुको सहजै पुष्टि गरिदियो

नेपाली संगीतमा फक्रेकी झुमा पछिल्लो समय आप्mनै याक्थुङ सभ्यताको रापले ‘खासाम’ मा मुन्धुम भएर फुलिन । मुन्धुम, मेरिङ थक्मा, हाक्पारे, पालाम, ख्यालीरुपि फूलमा रंगिविरंगीका मोहक त छंदैछन् अझ याक्थुङ सभ्यता र संस्कृतिका रागले झुमालाई थप चम्काएर झन नुमा (राम्री) बनाई दियो । उनले अन्वेषण गरेका लिम्बू कला र संस्कृतिका चमकहरु झुल्के घाममा टल्किने फक्ताङलुङ हुन । तिनै खासामका गर्भमा हुर्केका परागहरु देशी बिदेशका लिम्बू लिम्बूनीहरुका मन र मष्तिष्कमा सेचन गर्न उनी भमरा झै उडि रहेकी छिन ।

नेपाली गीत गाएर पेट पाल्नुपर्ने वन्धनमा हुर्केकी झुमाले कथित मूलधारे संगीतको क्याम्प फेर्नको कारणबारे एउटा रमाइलो घटना सुनाईन । ब्रिटिश स्कूलमा आयोजित अन्तराष्ट्रियस्तरको एउटा ठूलो सांगितिक मेला भर्न जांदा त्यहाँ थुप्रै कलाकारले संगीतमार्फथ आआप्mनो पहिचानमुलक राष्ट्रिय स्वाभिमानका गाथाहरु सुनाए । झुमालगायत नेपालका प्रतिनिधिहरुले नेपाली संगीतलाई स्थान नदिएकोमा ठूलो गुनासो पोखे । तर आयोजकहरुले “तिमारको कल्चर र म्युजिकै छैन, खै के प्रस्तुत गर्छौ, नेपालीहरुले प्रयोग गरीरहेको म्युजिक त भारतबाट आयतिति हो” भने ।

अन्तमा आयोजकले नेपाली आइडेन्डिटीको गीत एउटै छ भन्दै ‘रेसम फिरिरी’ बजाइ दिएपछि मात्र झुमाको होस खुल्यो । यतिका वर्ष खर्चेर झुमाले बुझेकी शास्त्रीय संगीत त सबै भ्रम रहेछन् । आफै लज्जा वोध भयो ।

लाग्यो लिम्बूपनि नेपालको एक सुसंस्कृत रैथाने भाषा हो र यसैमा काम गर्ने दृढ अठोट गरिन । र, फर्किन लिम्बुवानतिर संगितका मूल जरो खोतल्न ।

पञ्चायती ब्यवस्थाको एक भाषा शिक्षा नीति भूत भएर गाऊँ खाई सकेको थियो । पूरै लिम्बुबवानमा लिम्बू भाषा बोल्नेहरु पढ्न जान्दैनन् वा धान नाच्ने केटीहरु काम लाग्दैन भन्ने मान्यताको विकास भयो । यही समयदेखि नेपालका थुप्रै रैथाने भाषाहरुको भ्रुण हत्या हुन थालि सकेको थियो । झुमा यसबाट पछितो रहिनन । रनै पूरै किशोर काल गाऊँघरमा विताएपनि उनी लिम्बू भाषा, संस्कृतिमा उति अभ्यस्त थिईनन् । भाषा राम्रै बुभ्थिन तर बोल्न समस्या ।

अब झुमाको संघर्षका दिनहरु सुरु भए । भाषा सिकिन । पातको पिपिरी, च्याबुङको अलाप विलाप, सुसेली सुइको, थालका तालहरु खोज्दै थुम थुममा फरक–फरक लवजका पालाम, हाक्पारे सिक्दै गइन । दश लिम्बुवान १७ थुमका मेलाबजार, बिहे, वर्खीदेखि सुक्खिमसम्म पुगिन । गुञ्जमान शुब्बा, पुष्पहाङ थाम्सुहाङ, बैरागी काइँला, डा. चैतन्य शुब्बा, यासेली योङहाङ, बिबि मुरिङ्ला, अमर तुम्याहाङ, बिक्रम शुब्बा, सनमान चेम्जङजस्ता लिम्बू कला, साहित्य, संस्कृतिका सारथीहरुसंग घुलमिल गरीन । र जन्म्यो ‘खासाम’ ।

खासामको आधा हिस्सा यासेली

4#
सुरुमा बोल्ने भाषाको विकास भएकै थिएन । ढुंगा, काठ, पात जे छ त्येसैको आवज बनाए र इशराले सञ्चारको काम गरिन्थ्यो । आपतविपत पर्दा वा कुनै खुशियालीमा सोही अनुसारका आवाजहरु जन्मन्दै गए । मानव सभ्यता विकासको क्रमसंगै आवश्यकता अनुसार पात, मुर्चुंगा, विनायो, थाल, च्याब्रुङ, सुसेलीको विकास भयो र रुने, कराउने हाक्पारे, पालाम, ख्याली गाउने आवाजहरु समयसंगै अहिलेको भाषा विकास भयो ।

लिम्बू जातिको विकासको इतिहास येवा फेदाङमाहरु लय, ताल, भाका मिलाएर धाराप्रवाह ओकल्छन् जसलाई ‘मुन्धुम’ भनिन्छ । मुन्धुम पुस्तान्तर मौखिक हस्तान्तरण हुँदै जाने लिम्बू जातिको आदि र अन्त्य पहिल्याऊने एक जीवन दर्शन हो । मुन्धुम गायन शैलीमा ब्याख्या गरिएका लिम्बूहरुको कला, संस्कृति, संस्कार, इतिहास, सभ्यताहरुलाई झुमाले लामो खोज अनुसन्धानपछि खासामको रुप दिइन । खासाममा गजवको मेलोडीहरु छन् । हरेक मेलोडीमा प्राण भर्न चार वर्ष लिम्बू संस्कृतिका ज्ञाता यासेली योङहाङले महत्वपूर्ण रोल खेलेका थिए । यसमा लिम्बू भाषा, संस्कृतिको कखरा सिकाउने उनै भएकाले खासामको आधा हिस्सा यासेली योङहाङ रहेको झुमाको स्विकारोक्त ।

झुमा आधुनिक नेपाली संगीतको ज्ञाता भएरपनि फराकिलो सोच राखि लिम्बू गीत संगीतमा आएकोमा लिम्बू कला संस्कृतिका बादशाह यासेली योङहाङ दंग परेका छन् । पूरै चार वर्ष यासेली र झुमा दाजु बहिनीको सहयात्राले खासाम जन्म्यो । यासेली एक्लैले ३ सय जति लिम्बू गीत रचना र ९ वटा एल्बम निकाले छन् र ती मध्ये खासामको भागिदार हुनु पाउनु गौरव अनुभूति भएको व्यक्त गर्छन । यासेली विचारमा, ‘खासाम सुन्ने भन्दा पनि पढ्ने, बुझ्ने, मनन गर्ने एल्बम हो’ ।

ब्रह्माण्डको उत्पतिसंगै मान्छे, जिवजन्तु, वनस्पिति सृटि श्रृङखलाका विकासमक्रम एवम् लामो शिकारी युगको कष्टमय जीवनपछि कृषी युगमा प्रवेशमा हाम्रा पुर्खाहरुले भोगेका संघर्षका गाथाहरु मुन्धुम, हाक्पारे, खयाली, पालाममार्फ खासाममा लिम्बू जातिका सांस्कृतिक पृष्ठभूमि र ऐतिहासिक तथ्यहरु उजागर भएकाछन् ।

लिम्बू भाषामा खसामको अर्थ ‘सभ्यता’ हो । झुमाले बुझेरै खासामको कभरमा आफ्नै हस्ताक्षरमा लेख्छिनः

“मुन्धुम संगित नेपालका रैथाने सांस्कृतिक धरोहरमध्ये एक हो । मुन्धुम, संगित, श्रृष्टि, सभ्यता, समाज, जीवन, प्रेम, दया, माया, करुणाहरुको गाथा र अभिलेख दुवै हो” ।

हो, मुन्धुम बुझाईमा यहाँनेर झुमालाई प्रश्न गर्न सकिन्छ । वास्तवमा मुन्धुम मानव सृष्टिको आरम्भदेखि लोभलालच, छलकपट, ईष्र्या, डाही, व्यभिचार, हत्या, फौदारीजस्ता अनेक घटनाका श्रृङखलाहरुपनि समावेस छन् । यो पाटोलाई किन विर्सियोे? बस । हाँस्ने,, खोक्ने, सुसेल्ने, कुर्लिने एवम् चामाथुङमाजस्ता अन्य थुप्रै लिम्बू जन–जीवनका मौलिक कलाहरुपनि खासाममा अटाउन सकेनन ।

गतिशिल झुमा

झुमा नितान्त सांस्कृतिक आन्दोलनकी एक अथक धावक हुन । कसैले करियर गायिका भन्यो भने सिधै जाइ लाग्ने उनी कर्ममा गतिशिल सर्जकपनि हुन । झुमा नेपाली गीत गाऊन छोडेर जातिवादी भएको आरोप प्रसश्त सुनेकी छिन । यद्यपि यस्ता बजारे हल्लाले उनलाई पटक्कै छुंदैन । उनी भन्छिन्ः “म जातीय गायीका होइन, जहाँ पहिचान छैन पैसाको लागि गाएर किन समय खर्चौं ?”

नभन्दै झुमालाई बिभिन्न नेपाली भाषाका ठेट पहिचानबादी मेलोडीहरु खोज्न बझाङ, डोटी, डडेलधुरा, बैतडी घुमरे त्यहाँका लोभलाग्दो संस्कृति संकलन गर्दैमा फुर्सत छैन । तामाङ, सुनुवार, धीमाल समुदायजस्ता अरुका मौलिक संगीतलाई राज्यको मूलधारमा ल्याउन रातदिन खटि रहनेलाई जातिबादी भन्ने ठाऊँ कतै पाइदैन ।

त्येसो भन्दैमा झुमाले नेपाली संगीतलाई माया मारेकी भने पटक्कै होइन । तर नेपाली गीत संगीत गाउने बजाउनेहरु मात्र मूलधारे कलाकार हो भन्ने परम्पारवादी मानसिकताबाट अलग्गिएको चाही सत्य हो । उनले बुझेको देखेको मूलधारका नेपाली पहिचानका खाँटी संगीतहरु त रेकर्ड भएकौ छैनन वा कम मात्रमा । झुमा थप्छिन्, “हाम्रा मौलिक संगित त दुरदराजका बिभिन्न जातजातिका गोठाला, खेताला, भरियाहरुले बचाएर राखेकाछन् । यसलाई संरक्षरण गर्ने दायित्व राज्यको हो । तर सरकारसंग सामन्य अडियो भिडियोको अभिलेख राख्ने संयत्रसम्म छैन । यस विषयमा झुमा कता–कताबाट आएको वजेट मिलाएर खानुवाहेक सिन्को नभाच्ने नेपाली कला, संस्कृतिको ठेक्का लिएका संस्कृति मन्त्रालय र एकादमीका ठेकेदारहरुसंग ठुलै झगडा गरिन । उनको लिम्बूनी झोंकले काम गर्यो । अन्ततः संस्कृति मन्त्रालय अडियो भिडियोको अभिलेख राख्ने संयन्त्रको विकास गर्न राजी भएको छ ।

तङ्वा तानेर नबस्ने

हाल झुमा बेलायत भ्रमणमा छिन । तर उनलाई अरु कलाकारजस्ता मञ्च तताएर काठमाण्डौमा घर ठड्यानु कुनै चटारो छैन । उनी ठाऊ–ठाऊका लिम्बू वस्तीहरुमा घलदैलो गर्दै खासामको महत्व बुझाउन भ्याई नभ्याई छिन् ।

झुमाले पूरै जीवन मौलिक नेपाली लोक संस्कृति अध्ययन र अनुसन्धानमा समर्पण गर्दैछिन । खासाम सफल हुंदैमा कामको अध्ययाय टुँगिनेवाला छैन । अब उनी लिम्बू जातिका जन्मअघि, जन्म, बिवाह, मृत्य र त्येसपछिका जीवन चक्रहरुलाई केलाउन तरखरमा छिन । उनका अघि स्रोत साधनबाट वञ्चित पिछाडिएका अन्य समुदायका संस्कृति र जीवनशैलीलाई चिनाउन काम डंगुरहरुपनि छन् ।

झुमाको खासामले अपार सफलता पाएकै हो । बहुराष्ट्रिय कम्पनीहरुको समान बिकेको आधारमा खासाम सफलताको मापन गर्दा झुमालाई घोर अन्याय हुन्छ । खासाम आफैमा जीवन जगतको सृष्टि र तिनका निररन्तरताको ऐतिहासिक दस्तावेज हो ।

अन्तमाः एकचोटी सफल भँए भन्दैमा अबका दिन तङ्वा तानेर नवस्ने दृढ अठोट खुशीको खवर पनि छ झुमासंग ।

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.