चुम्लुङ यूकेकाे विधान संशाेधन गर्न छलफल तीव्र बन्दै

केन्ट । किरात याक्थुङ चुम्लुङ यूकेले आफ्नाे विधान संशोधनकाे प्रक्रिया सुरु गरेको छ । संस्थालाई समयसापेक्ष रूपमा अगाडि बढाउन भन्दै विधानकाे संशाेधनका लागि कार्वाही अगाडि बढाएको हाे ।

सन् २००३ संस्था स्थापना भएयता विधान साताैँ पटककाे संशाेधनकाे तयारीमा रहेको छ । शनिबार मात्रै केन्द्रीय समितिद्वारा गठित विधान संशाेधन टिमले केन्टकाे फाेक्स्टाेनमा क्षेत्रीय परामर्श एवम् सुझाव संकलन कार्य राखेको अध्यक्ष नरवीर आङ्वाेले बताए । क्षेत्र नम्बर एकअन्तर्गत आसफाेर्ड, फाेक्स्टाेन, क्यान्टरवरी, वेस्ट केन्ट, ग्रेज र काेल्चेस्टर शाखा समितिका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरू सहभागी थिए । त्यस्तै, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारी, वर्तमान केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकारहरूले पनि बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकको सहजीकरण विधान संशोधन समितिका संयाेजक एवम् पूर्व अध्यक्ष बमबहादुर लिम्बु, पूर्व महासचिव विजयविक्रम लिङ्देन र रत्न लाबुङले गरेका थिए ।

आगामी फेब्रुअरी ६ मा भने बाँकी दश शाखाहरूकाे क्षेत्रीय परामर्श एवम् सुझाव संकलन बैठक बस्ने छ । यसअघि, जनवरी १५ र १६ मा भर्चुअल माध्यमबाट सुझाव एवम् राय सङ्कलन गरिएको महासचिव जुरेन्द्र खजुमले बताए । उनले विधान संशोधन समितिले अन्तिम मस्याैदा र सुझावहरूकाे सूची आगामी मार्च ५ मा लन्डनको फेल्थाममा हुने बैठकमा पेश गर्ने बताए । कियाचु यूकेका हाल १६ शाखाहरू सक्रिय छन् ।

कियाचु यूकेकाे विधान २००८ मा पहिलोपटक संशोधन गरिएको थियोे । त्यसपछि, २०११, १३, १४, १७ र पछिल्लोपटक सन् २०२० मा संशोधन एवम् परिमार्जन गरिएको थियोे । चुम्लुङ यूकेकाे दसाैँ महाधिवेशन गत वर्षको सेप्टेम्बर १८ र १९ मा अल्डरसटमा सम्पन्न भएको थियाे । यूकेमा याक्थुङ लिम्बू समुदायको जनसंख्या यकिन नभए पनि करिब २५ हजार बढी रहेको अनुमान गरिएको छ ।