लण्डनमा सम्पन्न १६औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको उत्कृष्ट सहभागिता । लण्डन, 24 अगस्ट 2025 । लण्डनस्थित Kempton Park, Sunbury-on-Thames मा तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरेको १६औं नेपाली मेला २०२५ भव्यताका >>>

लण्डनमा सम्पन्न १६औं नेपाली मेलामा किरात याक्थुङ चुम्लुङ यूकेको उत्कृष्ट सहभागिता ।
लण्डन, 24 अगस्ट 2025 ।
लण्डनस्थित Kempton Park, Sunbury-on-Thames मा तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरेको १६औं नेपाली मेला २०२५ भव्यताका साथ सम्पन्न भएको छ। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” नाराका साथ सम्पन्न मेलामा करिब १३ हजारभन्दा बढीको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

मेलामा बेलायतभरका विभिन्न सामाजिक, जातीय तथा धार्मिक संघसंस्थाले प्रस्तुत गरेका मौलिक झाँकी र सांस्कृतिक प्रदर्शनले लन्डनलाई मिनी नेपालमा परिणत गरेको थियो। झण्डै तीन दर्जनभन्दा बढी संघसंस्थाले प्रतियोगितामा भाग लिएका थिए।
यस वर्षको मेलामा झाँकी, सांस्कृतिक नृत्य र एम्बासाडोर कप गरी तीन प्रतियोगिता आयोजना गरिएको थियो। किरात याक्थुङ चुम्लुङ यूकेले सांस्कृतिक विभाग प्रमुख भक्तिहाङ आङ्देम्बेको संयोजनमा आफ्नो संस्थाको तर्फबाट आकर्षक प्रस्तुति दिएर सबै तीन प्रतियोगितामा पुरस्कार हात पार्न सफल भएको छ।

झाँकीतर्फ हाक्पारे, धान नाच, च्याब्रुङ नाच, बिनायो–मर्चुङ्गासहितको गोलाकार नृत्य प्रस्तुत गर्दै कियाचु यूकेले ओभरअल तेस्रो स्थान प्राप्त गर्यो। त्यस्तै, सांस्कृतिक नृत्यतर्फ ग्रेटर लण्डन सिनियर शाखाका १८ जना युवायुवतीले प्रस्तुत गरेको च्याब्रुङ नृत्यले पनि ओभरअल तेस्रो स्थान हात पार्यो। यी दुवै प्रतियोगिताबाट प्राप्त अङ्कको आधारमा घोषित एम्बासाडोर कपमा कियाचु यूके दोस्रो स्थानमा रह्यो। किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले विगतका वर्षझैँ यस वर्ष पनि संस्थाले लिम्बु (याक्थुङ्बा) समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सफल भएको बताउँदै संयोजक भक्तिहाङ आङ्देम्बे, ग्रेटर लण्डन सिनियर शाखाका अध्यक्ष कुलकेशर लिम्बु, र सम्पूर्ण सहभागी कलाकारप्रति आभार व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपाली भेला भएर उत्सव मनाएको देख्दा आफू अत्यन्तै खुशी भएको बताए। उनले भूतपूर्व गोर्खाहरूको योगदानले नेपाल–बेलायत सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्दै नेपाली संस्कृति जगेर्नाका लागि तमुधिं यूकेको पहलप्रति प्रशंसा गरे।

विशेष अतिथि तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बेलायतमा रहेका नेपालीहरूले आफ्नो भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै आएकोमा गर्व व्यक्त गरे। उनले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मूल भावलाई समर्थन गर्दै वंशजका लागि नागरिकताको निरन्तरताको पक्षमा आफू दृढ रहेको बताए। साथै, उज्यालो नेपाल अभियानमार्फत देशभर उज्यालो फैलाउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा सहयोगको आह्वान गरे। तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन उपाध्यक्ष कमल कोने गुरुङले गरेका थिए भने संचालन महासचिव डा. विशाल गुरुङले गरेका थिए।
नर थाम्सुहाङ
मेडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके@everyone



