लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको छ ।
नेपालमा मात्रै नभएर साँस्कृतिक बहसले प्रवासमा रहेका याक्थुङ समुदायलाई पनि गाँजेको छ । नेपाल र भारतकाे सिक्किम, दार्जिलिङपछि सबैभन्दा धेरै याक्थुङ बसोबास गर्ने मुलुक मानिएको बेलायतमा पनि ‘किरात’ पहिचानको अपनत्व लिने या नलिने बीच पक्ष विपक्षमा छलफल भएका छन् । गत शनिबार राजधानी लन्डनको फेल्थाममा भएको किरात याक्थुङ चुम्लुङको विधान सभा बैठकमा ‘किरात’ बारे बहस हुँदा सभा अनियन्त्रित अवस्थामा पुगेको थियो ।
याक्थुङ लिम्बु समुदायको साझा प्रतिनिधिमूलक जातीय सामाजिक संस्था मानिने चुम्लुङ यूकेको दसौँ महाधिवेशन गत सेप्टेम्बरमा अल्डरसटमा सम्पन्न भएको थियो । नयाँ कार्य समितिले विधानमा आवश्यक कुराको थपघटका लागि मार्चमा विधानसभा तोकेको थियो । सन् २००३ मा स्थापना भएको कियाचु यूकेको १६ शाखाहरु क्रियाशील छन् । जनवरी र फेब्रुअरीमा दुई वटा क्षेत्रीय स्तरमा दुई तहमा भर्चुअल र भौतिक बैठकहरु सम्पन्न भएका थिए । चुम्लुङमा विशेषगरी, युमा धर्म र किरात धर्म पक्षधरबीच चर्काे बहस हुँद्रै आएको छ । कतिपय अवस्थामा यी बहसहरु अनियन्त्रित र आक्षेपयुक्त भइआएका पनि छन् । सन् १९८९ मा स्थापना भएको कियाचु नेपाल पनि ठीक यतिबेला आफ्नो ११ औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । शनिबारदेखि तीन दिनसम्म पान्थरको फेदेनमा सुरु हुन लागिरहेको महाधिवशेनमा पनि यस विषयले केही स्थान पाउने सम्भावाना बढेको छ । यद्यपि, कियाचु नेपालको नेतृत्व अहिले नै ‘किरात’ को अपनत्व लिने या नलिने सम्बन्धमा पुनर्विचार गर्ने पक्षमा छैन । दुई वर्षअघि मात्रै धरानमा ‘किरात’ काे पक्षमा नरहेका याक्थुङ लिम्बुहरूकाे एक समूहले याक्थुङ चुम्लुङ(याचु) नामक बेग्लै संस्था स्थापना गरेर दर्ता गरिसकेको छ । गत साता मात्रै भक्त लिम्बुकाे नेतृत्वमा रहेको याचुले पहिलो अधिवेशन सम्पन्न गरिसकेको छ ।
यूके चुम्लुङको विधानसभामा संस्थाको नाममै पुनर्विचार गरिनुपर्ने युमा साम्यो या याक्थुङ पहिचान पक्षधरहरूले आवाज उठाएका थिए । ‘संस्थाले सबैलाई समेट्ने हो भने किरात शब्द उपर पुनर्विचार गरिनुपर्छ । यसले सबै याक्थुङ समुदायलाई समेट्न सक्दैन । यसलाई हटाएर सबैलाई मान्य हुने नाम राखिनुपर्छ,’ कियाचु यूकेका पूर्व भाषा तथा साहित्य विभाग प्रमुख टंक वेनमले भने, ‘किरात शब्द हाम्रो मौलिक मुन्धुमको दृष्टिकोणबाट पनि उपयुक्त छैन । यो हाम्रो मौलिक भाषा होइन पनि । यसले समुदायको भावनात्मक एकतामा समस्या सिर्जना गरेको छ ।’ वनेम युमा साम्यो महासभा यूकेका अध्यक्ष समेत हुन् । उनकै भनाइमा सहमति जनाउँदै हाल आसफोर्डनिवासी कियाचु हङकङका पूर्व सचिव दिल पालुङ्वाले याक्थुङ पहिचानले मात्रै सबैलाई समेट्न सक्ने भन्दै चुम्लुङले आफ्नो संस्थाको नामबाट किरात शब्द हटाएर याक्थुङ चुम्लुङ मात्रै राख्नुपर्ने जिकिर गरेका थिए । आदिवासी जनजाति महासंघ यूकेका पूर्व उपाध्यक्ष लोकेन्द्र तबेबुङले समेत किरात आयातित शब्द र आर्य समुदायले दिएको पहिचान भएका कारण यसले मौलिकताको सम्बोधन गर्न नसक्ने बताए ।
अर्कोतिर, किरात शब्द हटाउने प्रयासको विरोध गर्दै स्वीन्डननिवासी रामकुमार थेवेले किरात बृहत जातीय र राजनीतिक पहिचान भएका कारण हटाउन नमिल्ने तर्क गरेका थिए । ‘साथीहरूको मतलाई सम्मान गर्छु । तर, अहिले नै तत्काल यो हटाउन मिल्दैन । किरात भनेको धर्म नभएर यो सभ्यता र बृहत राजनीतिक पहिचान पनि हो,’ किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका अध्यक्ष समेत रहेका थेवे भने, ‘किरात राख्ने निर्णय अहिले रातारात गरिएको निर्णय होइन । यसबारे तीन दशकअघि नै नेपालमा चुम्लुङका संस्थापकहरूले छलफल गरेर निचोडमा पुगेका हुन् ।’ अर्का, वक्ता संघका उपाध्यक्ष एवम् कियाचु आसफोर्ड शाखाका संस्थापक अध्यक्ष राजेन्द्र खिम्दिङले किरात पहिचानले याक्थुङ लिम्बुसँगै अन्य आदिवासी जनजातिलाई समेत जोड्ने बताए ।
युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष नरेन्द्र माबोहाङले किरात भूगोल, धर्म, जाति र सभ्यता केही नभएको भन्दै प्रतिवाद गरे । ‘हाम्रो प्राचीन पहिचान याक्थुङ हो । धर्म युमा हो । भूगोल याक्थुङ लाजे लिम्बुवान हो । सभ्यता इम्बिरी याङ्धाङ्वा हो,’ उनले भने, ‘यसकारण किरातसँग हाम्रो कुनै पनि प्राचीन साइनो सम्बन्ध छैन । यो हिन्दू आर्यको वेद, ग्रन्थ, साहित्य बढी उच्चारणमा आएको शब्द हो ।’ किरात शब्द हटाउने या पुनर्विचार गर्ने पक्षमा पूर्व केन्द्रीय अध्यक्ष दिलसिङ मेन्याङ्वो, जय मादेम्बा, पूर्व कोषाध्यक्ष धन काम्बाङ, कमल अन्छङ्वो, केन्द्रीय सचिव सानु सुब्बा, लासोगेन कुसा चुुम्लुङ(युवा मञ्च) का संयोजक लाहाङ चेम्जोङ, कियाचु आसफोर्ड सचिव एवम् पत्रकार अमित थेवे लगायतले प्रस्ताव राखेका थिए । किरात हटाउने प्रस्तावको विपक्षमा भने किरात धर्मका पक्षधरहरू देखिएका थिए । उनीहरूले छलफलका क्रममा पटक पटक नाराबाजी समेत गरेका थिए ।
विधान सभाले सातौँ पटक विधान संशोधन गर्ने क्रममा धर्मको सवालमा भने बहुधर्म अंगाल्ने निर्णय गरेको केन्द्रीय सचिव तारा कन्दङ्वाले बताए । उनले याक्थुङ लिम्बु समुदाय युमा, किरात, सत्यहाङ्मा धर्म लगायतका आस्थामा बाँडिएका कारण पनि बहुधर्मको नीति लिने गरी प्रस्तावनामा राख्न सहमत भएको बताए । यद्यपि, कियाचुको नामबाट किरात हटाउने र विधानको प्रस्तावनामा उल्लेख ‘किरात याक्थुङ वंशज’ का विषयमा भने खोज अनुसन्धान गर्न छुट्टै विभाग गठन गरेर बहसमा छिर्ने सहमति भएको जनाए । ‘धर्मको सवालमा चुम्लुङ तटस्थ रहने भएको छ । अब हामी बहु धर्मको नीति मान्ने छौँ । यसले धर्मको बहसलाई मत्थर पार्नेछ । तर, सिंगो किरात नै हटाउने विषय चाहिँ पेचिलो छ । यसबारे पर्याप्त बहस चलाउन विभाग गठन गर्ने र थप खोजबिन र अनुसन्धान गर्ने गरी विधानसभाले निर्णय गरेको छ ।
किरातबारे बहसका अतिरिक्त विधानसभाले केही महत्वपूर्ण निर्णयहरू समेत गरेको महासचिव जुरेन्द्र खजुमले बताए । उनले संरक्षक सदस्यताको शुल्कबारे आगमी केन्द्रीय समितिको बैठकले टुंगो लाउने बताए । उनले सम्पूर्ण सदस्यहरू शाखामार्फत् आउनुपर्ने गरी निर्णय गरेको जनाए । यसैगरी, सभाले थामेन्दिङ्मा महिला समितिलाई थप स्वायत्तता दिँदै आफ्नै अधिवेशनबाट केन्द्रीय समितिमा एक महिला उपाध्यक्ष समेत पठाउन सक्ने गरी विधान संशोधन गरेको छ । १३ सदस्यीय पदाधिकारी रहने केन्द्रीय समितिमा जम्मा पाँच उपाध्यक्ष रहनेछन् । प्रत्येक शाखा समितिबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । शाखा अध्यक्षहरु भने पदेन सदस्य रहनेछन् ।
यसैगरी, विधान सभाले युवा मञ्चलाई समेत काम, कर्तव्य र अधिकार प्रत्यायोजन गर्दै समिति निर्माण गर्ने गरी बाटो खोलिदिएको छ । संयोजक लाहाङ चेम्जोङले प्रस्ताव गरेको नयाँ नाम याक्थुङ कुसा चुम्लुङलाई सभाले पारित गरेको छ ।