किरात याक्थुङ चुम्लुङ युकेद्वारा कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न ।

गत ७ फेब्रुअरी २०२६ मा अल्डरसटको प्यालेस भवनमा किरात याक्थुङ चुम्लुङ युकेको संयोजकत्वमा एक कल्याणकारी च्यारिटी डिनर भव्यतापूर्वक सम्पन्न भएको छ। संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक महामहिम राजदूत बिपिन दुवाडी रहनु भएको थियो।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर (सेवानिवृत्त) योगेश राई लगायत विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरू, संस्थाका सम्मानित व्यक्तित्वहरू, शाखा अध्यक्षहरू तथा हाल नेपाल भ्रमणमा रहेका राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका महासचिव महेश कुमार वानेमद्वारा सञ्चालन गरिएको औपचारिक सत्रमा उपाध्यक्ष (संयोजक) सन्त हुक्पाचोङबाङले सम्पूर्ण आमन्त्रित पाहुनाहरू तथा व्यस्तताका बाबजुद कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले लिम्बु समुदायका अग्रज युगपुरुषहरूको योगदानको प्रशंसा गर्दै नेपाली समाजका रीतिरिवाज, संस्कार र संस्कृतिको संरक्षण नै हाम्रो पहिचानको संरक्षण भएको उल्लेख गर्नुभयो। उहाँले निमन्त्रणाका लागि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर (सेवानिवृत्त) योगेश राईले महासंघको संक्षिप्त परिचय दिँदै किरात याक्थुङ चुम्लुङ युके महासंघको अभिन्न अंग भएको बताउनुभयो। साथै, उहाँले नेपालको वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्दै च्यारिटी डिनरको उद्देश्य सफलताको शुभकामना व्यक्त गर्नुभयो।

प्रमुख अतिथि कार्यवाहक महामहिम राजदूत बिपिन दुवाडीले आफ्नो सम्बोधनमा बेलायतस्थित नेपाली समुदायको हितका लागि दूतावासले गरेका प्रयासहरूबारे जानकारी दिनुभयो। उहाँले नेपाली समाजले हाल भोगिरहेका विभिन्न चुनौतीहरू, दूतावासको भूमिका तथा सहयोगबारे प्रकाश पार्दै बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूको माग सम्बोधनका लागि नेपाल सरकारले बेलायत सरकारसमक्ष स्पष्ट धारणा राखेको र उक्त विषय समाधानको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। (उहाँको पूर्ण सम्बोधनको भिडियो समावेश गरिएको छ।) साथै, संस्थाले सञ्चालन गरेको कल्याणकारी कार्यको प्रशंसा गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा संस्थाका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले प्रमुख अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कल्याणकारी कोषका लागि संस्थागत तथा व्यक्तिगत रूपमा सहयोग पुर्याउने दाताहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

उहाँका अनुसार च्यारिटी डिनरको उद्देश्य केवल कोष संकलन मात्र नभई संस्थाको कार्यक्षेत्र र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नु, दाता तथा हितधारकहरूसँगको सम्बन्ध सुदृढ गर्नु, समान सोच भएका व्यक्ति तथा संस्थाहरूसँग सहकार्यको अवसर सिर्जना गर्नु, समाजका कमजोर वर्गप्रति सहयोगको संस्कार प्रवर्द्धन गर्नु तथा सामुदायिक भावना सुदृढ गर्नु रहेको छ।

उहाँले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक, सह–संयोजक, सम्पूर्ण कार्यसमिति, राष्ट्रिय कलाकारहरू, बेगपाइपर, च्याब्रुङ समूह तथा स्थानीय कलाकारहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना सहित औपचारिक कार्यक्रम समापन गर्नुभयो।

औपचारिक कार्यक्रमपछि उपाध्यक्ष सानु सुब्बा र सचिव सकुन नेम्बाङद्वारा सञ्चालन गरिएको सांस्कृतिक सत्रमा च्याब्रुङ नृत्य, धान नाच, नेपाली गीत–संगीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। अन्त्यमा महासचिव महेश वानेमले निलामी (अक्सन) कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँले निलामी तथा समग्र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो।

जय किरात याक्थुङ चुम्लुङ युके!
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके



