नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा भव्य स्वागत तथा सम्मान ।

बेसिंगस्टोक, बेलायत | १६ नोभेम्बर २०२५ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बेलायतको बेसिंगस्टोक सहरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा खेल, कला र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली चलचित्र निर्देशक मिलन चाम्स, नायिका सृजना सुब्बा, कलाकार रन्जिता साउदेनलगायत बेलायतस्थित नेपाली समुदायका अगुवाहरू सहभागी थिए।
कार्यक्रमको सुरुवातमा किरात याक्थुङ चुम्लुङ युके, बेसिंगस्टोक शाखाकी अध्यक्ष शान्ति नाल्बोले स्वागत मन्तव्य राख्दै नेपाली खेलाडी र कलाकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गरिरहेको योगदानको प्रशंसा गर्नुभयो।

आफ्नो सम्बोधनमा कप्तान एन्जिला तुम्बापो सुब्बाले पूर्व कप्तान सबित्रा भण्डारीपछि राष्ट्रिय टोलीको नेतृत्व सम्हालेको क्षण स्मरण गर्दै बाल्यकालदेखि नै राष्ट्रिय टोलीको अभिन्न सदस्यका रूपमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरेको अनुभव साझा गर्नुभयो। उहाँले आफ्नो जीवनकथामा आधारित चलचित्र ‘एन्जिला’ निर्माण भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय नेपाली चलचित्र एकेडमी (INFA) को निमन्त्रणामा बेलायत भ्रमणमा आएको बताउनुभयो। यस क्रममा उहाँले आफ्नो यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन मन्तव्यमा किरात याक्थुङ चुम्लुङ युकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले एन्जिला तुम्बापो सुब्बा केवल लिम्बू समुदायकै मात्र नभई सम्पूर्ण नेपाली महिला, युवापुस्ता र राष्ट्रका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो। संघर्षपूर्ण जीवनयात्राबाट सफल नेतृत्व प्रदान गर्न सक्ने क्षमताले उहाँलाई उदाहरणीय व्यक्तित्व बनाएको उल्लेख गर्दै भविष्यमा पनि उहाँले देश र समाजलाई अझ गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, चलचित्र **‘एन्जिला’**सँग सम्बन्धित सम्पूर्ण कलाकार तथा टिमलाई सफलताको शुभकामना दिनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अध्यक्ष लिम्बुले यस कार्यक्रमको सफल संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष तिल बिक्रम सम्बाहाङ्फे तथा बेसिंगस्टोक शाखाकी अध्यक्ष शान्ति नाल्बोप्रति विशेष आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, एनआरएन युकेका कार्यवाहक अध्यक्ष, महासचिव जुरेन्द्र खजुम, तमुधि युकेद्वारा सञ्चालित गोर्खा कपका संयोजक क्याप्टेन दीपक घले, बेसिंगस्टोक नेपाली समाजका अध्यक्ष विजय लिङ्थेप, समाजसेवी सुबाश चन्द्र जबेगु, तिल बिक्रम सम्बाहाङ्फेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके
@everyone



