लन्डन, बेलायत । बेलायतमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको १७औँ नेपाली मेला–२०२६ मा किरात याक्थुङ चुम्लुङ यूके (KYC UK) ले याक्थुङ/लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै उल्लेखनीय सहभागिता जनाएको छ।

तमु धीं यूकेको आयोजनामा तथा नेपाली दूतावास, लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा सम्पन्न उक्त मेलामा बेलायतभर सक्रिय विभिन्न नेपाली संघसंस्था तथा समुदायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने मूल नारासहित आयोजित मेलाले नेपाली समुदायको सांस्कृतिक विविधता, एकता र साझा गौरवलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो।
किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको नेतृत्वमा संस्थाले मेलामा सहभागिता जनाएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दिपेन्द्र याक्सोको समेत विशेष उपस्थिति रहेको थियो। त्यस्तै, कार्यक्रमसँग सम्बन्धित आर्थिक पक्षको व्यवस्थापन केन्द्रीय कोषाध्यक्ष श्री खगेन्द्र लाओतीले सम्हालेका थिए।
यसैगरी, सांस्कृतिक झाँकी तथा प्रस्तुतिका क्रममा केन्द्रीय महासचिव श्री महेश वानेमले याक्थुङ/लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा तथा सांस्कृतिक पहिचानबारे व्याख्या गर्दै मेलामा उपस्थित दर्शक तथा सहभागीहरूलाई जानकारी गराएका थिए। उनको व्याख्याले याक्थुङ समुदायको सांस्कृतिक पक्षलाई बुझ्न र यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिन थप सहयोग पुर्याएको थियो।

किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमुर शाखाका अध्यक्ष थान कुमार नाल्बोको नेतृत्व तथा उपाध्यक्ष वीरेन्द्र लोक्तामको संयोजनमा याक्थुङ समुदायको मौलिक च्याब्रुङ नृत्य (केलाङ) प्रस्तुत गरिएको थियो।
मेलामा सांस्कृतिक कार्यक्रम तथा झाँकी दुवै विधामा च्याब्रुङ नृत्य प्रस्तुत गरिएको थियो। दुवै प्रस्तुतिले सान्त्वना पुरस्कार प्राप्त गर्दै टोलीले कुल £४०० पुरस्कार जित्न सफल भएको थियो।
च्याब्रुङ नृत्यको नेतृत्व लोक फोम्बोले गरेका थिए भने भवानी लिम्बु, रिचार्ड वनेम, विवेक इवा, संघीया आङ्देम्बे, मुना आङ्देम्बे, बिमला थेगिम तथा मन्जु तेयुङ नुयो लिम्बु लगायत कलाकारहरूले सहभागिता जनाएका थिए। उनीहरूको प्रस्तुतिले याक्थुङ समुदायको सांस्कृतिक जीवन, मौलिकता र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
किरात याक्थुङ चुम्लुङ यूकेको सहभागिताले याक्थुङ/लिम्बु समुदायको भाषा, संस्कृति, परम्परागत नृत्य, भेषभूषा र मौलिक पहिचानलाई बेलायतस्थित नेपाली समुदायमाझ मात्र नभई बहुसांस्कृतिक बेलायती समाजसमक्ष समेत परिचित गराउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
याक्थुङ भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील किरात याक्थुङ चुम्लुङ यूकेले यस्ता साझा सांस्कृतिक मञ्चहरूमा सक्रिय सहभागिता जनाउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले ग्रेटर रसमुर शाखाका अध्यक्ष थान कुमार नाल्बोसहित सम्पूर्ण पदाधिकारी, कलाकार, स्वयंसेवक तथा सहभागीहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरेकी थिइन्। छोटो समयमै उत्कृष्ट व्यवस्थापन गर्दै मेलामा प्रभावकारी सहभागिता जनाउनुका साथै चुम्लुङ यूकेको गरिमा र सांस्कृतिक पहिचानलाई उच्च राख्न ग्रेटर रसमुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरिन्।
यस वर्षको १७औँ नेपाली मेला–२०२६ बेलायतस्थित नेपाली समुदायको विविधताभित्रको एकता, आपसी सद्भाव र सांस्कृतिक गौरव प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको थियो। किरात याक्थुङ चुम्लुङ यूकेको सक्रिय सहभागिता, सांस्कृतिक झाँकी, च्याब्रुङ नृत्य तथा याक्थुङ/लिम्बु संस्कृतिबारे गरिएको व्याख्याले मेलालाई थप रंगीन, ज्ञानमूलक र सांस्कृतिक रूपमा समृद्ध बनाएको थियो।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ यूके



