
किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लन्डन सिनियर शाखाद्वारा यक्वा तङ्नाम २०२६ भव्य रूपमा सम्पन्न ।
गत २५ अप्रिल २०२६ मा फेल्थाम कम्युनिटी कलेजमा किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको ग्रेटर लन्डन सिनियर शाखाले लिम्बु समुदायको मौलिक सांस्कृतिक पर्व यक्वा तङ्नाम २०२६ भव्यताका साथ सम्पन्न गरेको छ। शाखा अध्यक्ष कुलकेशर सेनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केवाईसी यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बु प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष खगेन्द्र लावती, नेपाल पत्रकार महासङ्घ यूकेकी अध्यक्ष बिमला सेने लगायत ग्रेटर लन्डन सिनियर शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यक्वा तङ्नामको अवसरमा विधिपूजा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो। स्थानीय कलाकार सुरेश कन्दङ्वा र राजपाल लिम्बुले लिम्बु गीत, हाक्पारे तथा नेपाली गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै, लिम्बु समुदायको पहिचान झल्काउने च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको थियो, जसको नेतृत्व पूर्ण बोक्खिमले गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ यूकेकी अध्यक्ष बिमला सेनेले यक्वा तङ्नामप्रति लिम्बु समुदायको प्राचीन आस्था र विश्वासबारे चर्चा गर्दै सञ्चार क्षेत्रले समाजमा जनचेतना फैलाउन खेलेको भूमिकाबारे आफ्नो धारणा राखिन्। उनले सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचान संरक्षणमा यस्ता कार्यक्रमको महत्त्व उल्लेख गरिन्।

प्रमुख अतिथि कमला सेन्दाङ लिम्बुले यक्वा तङ्नाम लिम्बु समुदायको प्राचीन तथा सम्मानित सांस्कृतिक परम्परा भएको बताउँदै यो पर्व पुर्खा तथा प्रकृतिप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने अवसर भएको उल्लेख गरिन्। खेतीपातीमा सहयोग गर्ने देवताप्रति सम्मान व्यक्त गर्दै मनाइने यो पर्व गम्भीर र हर्षोल्लासपूर्ण दुवै पक्ष समेटिएको विशेष अवसर भएको उनको भनाइ थियो। उनले परदेशमा रहेर पनि भाषा, संस्कार र संस्कृति जोगाइराख्न समुदाय एकजुट हुनुपर्नेमा जोड दिइन्।

शाखा अध्यक्ष कुलकेशर सेनेले यक्वा तङ्नाम सम्पूर्ण याक्थुङ लिम्बु समुदायले श्रद्धा र हार्दिकताका साथ मनाउने पर्व भएको बताए। उनले यस पर्वमार्फत समुदायले प्रशस्त वर्षा, अनुकूल मौसम तथा कृषि कार्यमा आउन सक्ने सम्भावित विपत्तिबाट सुरक्षाको कामना गर्दै आएको उल्लेख गरे। साथै, पुर्खादेखि चलिआएको यस सांस्कृतिक परम्परालाई विदेशमा पनि निरन्तरता दिन आवश्यक रहेकोमा उनले जोड दिए।

यस पर्वका अवसरमा आफन्त तथा साथीभाइलाई निम्तो दिई स्वादिष्ट परिकार र पेय पदार्थको आदानप्रदान गर्ने परम्परा रहेको छ। पालामको मधुर गायन, केलाङ र यालाङको तालमा नृत्य तथा अन्य मनोरञ्जनात्मक गतिविधिले समुदायमा आपसी सद्भाव, एकता र उत्सवको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सेनेले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, कलाकार तथा ग्रेटर लन्डन सिनियर शाखाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे।
स्रोतः ग्रेटर लन्डन सिनियर शाखा
नर थाम्सुहाङ
मिडिया संयोजक



