चुम्लुङ यूकेको दसौँ महाधिवेशनबाट आङ्वो अध्यक्षमा निर्वाचित

अल्डरसट, गत १८ र १९ सेप्टेम्बर २०२१ का दिन सम्पन्न किरात याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको १० औं अधिवेशनबाट अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् ।

महाधिवेशनले आङ्वोको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । विधानअनुसार चुम्लुङको पदािधकारीहरू महाधिवेशनबाट र केन्द्रीय सदस्यहरू शाखा अधिवेशनबाट पठाइएपछि अनुमोदन गरिन्छ । चुम्लुङ यूकेमा १६ शाखाहरू रहेका कारण केन्द्रीय समितिको आकार २७ सदस्यीय रहनेछ ।

यसअघि उपाध्यक्षका रूपमा काम गरेका आङ्वोले अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ, उपध्यक्ष दुर्गा पाङ्मा र ग्रेटर लन्डन सिनियरका निवर्तमान शाखा अध्यक्ष पूर्ण बोखिमलाई भारी मतले पराजित गरेका थिए । मतदानमा कुल ५८१ मत खसेको थियो । जसमध्ये चार मत बदर भएका थिए । विजयी रहेका आङ्वोले ३४० मत प्राप्त गरेका थिए । प्रारम्भमा पाँच जनाले सर्वोच्च पदका लागि दाबेदारी दिए पनि अर्का प्रत्यासी नर थाम्सुहाङले मतदान हुनुअघि उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यसैगरी, चार उपाध्यक्ष पदका लागि पनि आठ जनाले प्रतिस्पर्धा गरेका थिए । भारी मत पाएर अमृता पालुङ्वा, खगेन्द्र लाओती र सन्त हुक्पा चोङवाङ विजयी रहे । निवर्तमान महासचिव गणेश इजम र यादुचन्द्र लाओतीको मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल सम्हाल्ने गरी उपाध्यक्षमा निर्वाचित भए । उपाध्यक्षमा छत्र वनेम, विजय लिङ्थेप र धन काम्वाङ पनि प्रतिस्पर्धामा थिए । त्यसैगरी, महासचिवमा जुरेन्द्र खजुम निर्वाचित भए । सचिव पदमा भने तारा कन्दङ्वा निर्वाचित भएका थिए । सहसचिवमा भने पुनः दोस्रो कार्यकालका लागि सानु सब्बाले जनमत पाइन् । कोषाध्यक्ष भने दीपेन्द्र यक्सो र सहकोषाध्यक्ष पदमा जीवन प्यारा मादेन र नरप्रसाद सवेन्हिम यसअघि नै निर्विरोध रुपम निर्वाचित भइसकेका छन् ।
– अमित थेवे