आस्फोर्ड, बेलायत | १४ नोभेम्बर २०२६
किरात धर्म तथा साहित्य उत्थान संघ, राष्ट्रिय समिति बेलायतको आयोजनामा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती बेलायतको आस्फोर्डस्थित साइमन चर्चको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बूले दीप प्रज्वलन तथा महागुरुको तस्बिरमा पुष्पहार अर्पण गरी गर्नुभएको थियो।
समारोहमा महागुरु फाल्गुनन्दले अघि सार्नुभएको सामाजिक सुधार, समानता, मानवता, धार्मिक सहिष्णुता तथा मौलिक भाषा, धर्म र संस्कृतिको संरक्षणसम्बन्धी शिक्षालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व तथा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। धार्मिक सेवा, माङसेवा तथा सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप अर्थपूर्ण बनाएको थियो।
समारोहमा एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वास दीप तिगेला, एनआरएनए यूकेका उपाध्यक्ष अनिल मल्ल, महासचिव जुरेन्द्र खजुम लिम्बू, विभिन्न किरात संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा बेलायतका विभिन्न क्षेत्रबाट आएका २०० भन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।

दुई चरणमा सम्पन्न कार्यक्रमको धार्मिक सेवाको नेतृत्व किरात साम्यो माङसेवासाबा यूकेका अध्यक्ष मङ्गलसिङ लिङ्देनले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन निराज माबोहाङ र ज्ञानु फुरुम्बो चरपेले गर्नुभएको थियो।
महागुरु फाल्गुनन्दको समाज सुधार र सांस्कृतिक जागरणको सन्देशलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धतासहित समारोह सम्पन्न भएको थियो।




#MahaguruFalgunanda #142ndBirthAnniversary #KiratCulture #KiratReligion #AshfordUK #NepaliCommunityUK



