चुम्लुङ यूकेको १० औँ महाधिवेशनको तयारी तीव्र

लन्डन । किरात याक्थुङ चुम्लङ यूकेको दसौँ महाधिवेशनको तयारी तीव्र स्तरमा बढेको छ । चुम्लुङ यूकेको महाधिवेशन यहीँ सेप्टेम्बर १८ र १९ तारिखमा सम्पन्न हुँदैछ ।

आदिवासी याक्थुङ समुदायको सामाजिक प्रतिनिधिमूलक संस्था कियाचु यूकेको सक्रिय जातीय संस्थाहरूमध्ये एकमा पर्छ । दसौँ महाधिवेशन अल्डरसटको एम्पायर हलमा हुँदैछ । महाधिवेनमा १६ शाखाहरूकोे सहभागिता रहने कियाचु यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले जानकारी गराए । उनले विदेशमा रहेका चुम्लुङ शाखाहरूका प्रमुख पनि भर्चुअल माध्यमबाट जोडिने जनाए । ‘महामारीबाट सृजित लकडाउन खुकुलो भएसँगै अब भौतिक रूपमा नै भेटेर कार्यक्रम गर्ने वातावरण भएको छ,’ अध्यक्ष सम्बाहाङ्फेले भने, ‘महाधिवेशनले संस्थाको उपलब्धीहरूको समीक्षा गर्नेछ । नयाँ कार्यनीति र योजनाका साथ अझ सशक्त ढंगले बढ्नेछौँ ।’

यसैगरी, चु्म्लुङ महासचिव गणेश इजमले करिब पच्चीस सय बढी पञ्जीकृत सदस्यहरू रहेकोमा सत्र सय बढी सक्रिय सदस्यहरू ममहाधिवेशनमा प्रतिनिधिका लागि योग्य रहेको जनाए । ‘१६ शाखाहरूो विवरण अद्यावधिक हुँदैछ । अब अन्तिम नामावली र विवरण केही दिनमा सार्वजनिक गर्नेछौँ,’ उनले भने, ‘सबै तयारी पूरा भएपछि प्रेस मिटमार्फत् पूर्ण जानकारी दिनेछौँ ।’ यूकेमा करिब पच्चीस हजार बढी याक्थुङ लिम्बु समुदायको बसोबास रहेको विश्वास गरिन्छ । यद्यपि, नेपाली संस्थाहरूसँग जातीय जनसंख्याको अवस्थितिबारे यकिन तथ्याङ्क र विवरण उपलब्ध छैन ।

कियाचु यूकेको स्थापना सन् २००३ मा भएको हो । सेल्सबरीमा भएको याक्थुङहरूको भेलाले चुम्लुङ यूकेको स्थापना गरेको थियो । चु्म्लुङले गत सन् २०१९ मा मेडस्टोनको याल्डिङमा २५.३३ एकड क्षेत्रफलको चुम्लुङ देन(जग्गा) आफ्नै स्वामित्वमा रहने गरी खरिद गरेको थियो । चुम्लुङ यूकेले प्रत्येक वर्ष सिसेक्पा तङ्नामका बेला बृहत् याक्थुङ भेला आयोजन गर्दै आएको छ । यद्यपि दुई वर्षयता भने महामारीका कारण सिसेक्पा तङ्नाम उत्सव हुन सकिरहेको छैन ।