
लन्डन, बेलायत | ११ जुलाई २०२६
किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको आयोजनामा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। संस्थाकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिकाको Michigan State University मा लामो समयदेखि प्राध्यापनरत प्रा. डा. मारोहाङ खावाहाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष (अवकाशप्राप्त मेजर) योगेश राई, एमएमसी क्याम्पस धरानका पूर्व प्रमुख चन्द्र फोम्बो, बेलायतमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, सामाजिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा दर्जनौँ संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालबाट बेलायत भ्रमणमा रहनुभएका राष्ट्रिय कलाकार दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ तथा लक्ष्मण लिम्बुको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
औपचारिक कार्यक्रम

कार्यक्रमको पहिलो चरणमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ का संयोजक तथा संस्थाका उपाध्यक्ष दिपेन्द्र याक्सोले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। त्यसपछि प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई अध्यक्ष कमला सेन्दाङ लिम्बु तथा संस्थाका पदाधिकारीहरूले खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको विकास, संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै संस्थाका सदस्य परिवारका उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


यसै अवसरमा चुम्लुङ अवार्ड–२०२६ ग्रेटर लन्डन सिनियर शाखाका पूर्ण बोखिमलाई तथा यलम्बरहाङ अवार्ड–२०२६ वेस्ट केन्ट शाखाका राम लाबुङलाई प्रदान गरिने घोषणा गरिएको थियो।

औपचारिक कार्यक्रम संस्थाका महासचिव महेष वनेमले सञ्चालन गर्नुभएको थियो।
मौलिक धार्मिक तथा सांस्कृतिक प्रस्तुति

कार्यक्रमको दोस्रो चरण लिम्बु समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई समर्पित रहेको थियो।
किरात याक्थुङ चुम्लुङ वेन्सा चुम्भोले सिसेक्पा तङ्नामसँग सम्बन्धित अनिकाल खेदाउने सांस्कृतिक विधिबाट कार्यक्रमको शुभारम्भ गरेको थियो। त्यसपछि हिङ तङ्सिङ येवाहरूले लिम्बु परम्पराअनुसार सामूहिक पूजा सम्पन्न गर्नुभएको थियो।

संस्थाका सांस्कृतिक विभाग संयोजक भक्तिहाङ आङ्देम्बेले हिङ तङ्सिङ तथा सी–तङ्सिङ धार्मिक विधिको महत्वबारे जानकारी दिँदै बेलायतको समय, परिस्थिति तथा व्यवस्थापनलाई ध्यानमा राखेर परम्परागत विधिलाई छोटो स्वरूपमा सम्पन्न गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा मौलिक च्याब्रुङ (केःलाङ) नृत्य, युमा साम्यो तथा किरात धर्मका प्रतिनिधिहरूको सहभागिता, साथै संस्थाका आठवटै शाखाबाट प्रस्तुत सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकको मन जितेका थिए।
सांगीतिक कार्यक्रममा दर्शक उत्साहित

कार्यक्रमको तेस्रो चरणमा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ तथा लक्ष्मण लिम्बुले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो।

कार्यक्रमस्थलमा सहभागीहरूले सामूहिक रूपमा धान नाच प्रस्तुत गर्दै सिसेक्पा तङ्नामको उल्लासपूर्ण वातावरणलाई अझ जीवन्त बनाएका थिए।

प्रमुख अतिथिको मन्तव्य
प्रमुख अतिथि प्रा. डा. मारोहाङ खावाहाङले लिम्बु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सिसेक्पा तङ्नाममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै संसारको जुनसुकै स्थानमा बसोबास गरे पनि आफ्नो भाषा, संस्कृति, परम्परा, मुन्धुम तथा पहिचानको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

उहाँले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्दै यति व्यवस्थित र भव्य कार्यक्रम आयोजना गरेकोमा किरात याक्थुङ चुम्लुङ यूकेलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्षको समापन मन्तव्य
कार्यक्रमको समापन गर्दै अध्यक्ष कमला सेन्दाङ लिम्बुले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

उहाँले किरात याक्थुङ चुम्लुङ यूकेको उद्देश्य केवल लिम्बु समुदायको उत्थानमा सीमित नभई बेलायतमा रहेका सम्पूर्ण जातीय, क्षेत्रीय तथा सामाजिक संस्थाबीच सहकार्य, सहअस्तित्व, पारस्परिक सम्मान र सामाजिक एकतालाई अझ मजबुत बनाउनु रहेको स्पष्ट पार्नुभयो।

साथै वर्तमान समयमा सामाजिक सद्भाव, जिम्मेवार अभिव्यक्ति तथा सामाजिक सञ्जालको सकारात्मक प्रयोगको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै सबैलाई संयमित, जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कार्यक्रम संयोजक दिपेन्द्र याक्सो, केन्द्रीय कार्यसमिति, शाखा समितिहरू, विभागीय संयोजकहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण किरात याक्थुङ चुम्लुङ यूके परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँले “तागेरा निङ्वाभु माङले हामी सबैको कल्याण गरून्” भन्ने शुभकामनासहित कार्यक्रमको समापन घोषणा गर्नुभयो।
सञ्चार तथा मिडिया व्यवस्थापन
यस वर्षको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ को सञ्चार तथा मिडिया व्यवस्थापन अत्यन्त व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको समग्र सञ्चार समन्वय, औपचारिक कार्यक्रमको व्यवस्थापन तथा मिडिया रेखदेख किरात याक्थुङ चुम्लुङ यूकेका निवर्तमान महासचिव जुरेन्द्र खजुम लिम्बूले गर्नुभएको थियो।

त्यसैगरी सम्पूर्ण Media Coverage, दृश्य–श्रव्य अभिलेखन तथा मिडिया व्यवस्थापनको जिम्मेवारी वेन्सा चुम्भोका सहसचिव सुल्तान इधिङ्गोले सफलतापूर्वक निर्वाह गर्नुभएको थियो भने सुश्री सुब्रिना चोंग्बाङले मिडिया होस्ट तथा प्रस्तुति समन्वयलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुभएको थियो।

आयोजकले सम्पूर्ण सञ्चारकर्मी, फोटोग्राफर, भिडियो टोली, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
व्यवस्थापन तथा स्वयंसेवकहरूको सक्रिय भूमिका
कार्यक्रमलाई अनुशासित, व्यवस्थित तथा सफल बनाउन विभिन्न जिम्मेवारीमा खटिनुभएका पदाधिकारी तथा स्वयंसेवकहरूको योगदान उल्लेखनीय रहेको थियो।

स्टल व्यवस्थापन तथा समन्वय संस्थाका उपाध्यक्ष राजेन लाबुङको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो भने कार पार्किङ व्यवस्थापन उपाध्यक्ष शान्त हुक्पा चोङ्बाङको संयोजनमा व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो।
त्यसैगरी प्रवेशद्वार व्यवस्थापन तथा आगन्तुक स्वागतको जिम्मेवारी संस्थाका कोषाध्यक्ष खगेन्द्र लावती, सहकोषाध्यक्ष दोय देउप्रकाश पन्धाक तथा श्रीमती सोबिता तुम्बाहाङ्फेले जिम्मेवारीपूर्वक निर्वाह गर्नुभएको थियो।

उहाँहरूलाई रत्न लाबुङ, दिपेन्द्र लिबाङ तथा संस्थाका अन्य सक्रिय सदस्यहरूले निरन्तर सहयोग पुर्याउँदै कार्यक्रमको समग्र व्यवस्थापनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
आयोजकको आभार

किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, कलाकार, स्वयंसेवक, प्रायोजक, सञ्चारकर्मी, सुरक्षा व्यवस्थापन टोली, शाखा समितिहरू, केन्द्रीय कार्यसमिति तथा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाले आगामी वर्षहरूमा पनि सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाटलाई अझ भव्य, व्यवस्थित तथा सांस्कृतिक मौलिकतासहित निरन्तर आयोजना गर्दै बेलायतमा रहेका याक्थुङ/लिम्बु समुदायको भाषा, धर्म, संस्कृति, मुन्धुम, पहिचान तथा आपसी एकतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मिडिया | नर थाम्सुहाङ










